जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

शताब्दीपुरुष जोशीको १०६ औँ जन्मजयन्तीमा सालिक अनावरण

ललितपुर । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्ती २०८२ बैशाख ३० गते ललितपुरमा मनाइएको छ । सो अवसरमा जोशीको सालिक अनावरण गरिएको छ ।

ललितपुर महानगरपालिका कार्यालय परिसरको अग्रभागमा रहेको झनाख्य मेट्रो पार्कमा निर्मित जोशीको अर्धकदको सालिक महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गर्नुभएको हो ।

सालिक अनावरणपश्चात् महानगर प्रमुख महर्जनले स्वर्गीय जोशी मुलुककै गहना भएकाले उहाँको सम्मानमा जीवित छँदै उहाँको इच्छाअनुसार धेरै कामहरु सम्पन्न गरेको जानकारी दिनु भयो ।

भाषा, साहित्य, संस्कृति र कला क्षेत्रमा सत्यमोहन जेशीले गर्नुभएको अनुरोधलाई स्वीकार गरेर धेरै काम गरिएको पनि महर्जनले बताउनु भयो ।

महानगरप्रमुख महर्जनले जोशीको इच्छाअनुरूप उहाँद्वारा लिखित ‘वैद्य बा’ चलचित्र बैशाख ३० गते देखि नै लबिम मलमा प्रदर्शनमा ल्याइएको पनि जानकारी गराउनु भयो ।

महानगरप्रमुख महर्जनले स्व जोशीको योगदानलाई चिरकालसम्म स्मरणीय बनाउन महानगरले कुनै कमी नगर्ने बताउनु भयो । विक्रम संवत् १९७७ वैशाख ३० गते जन्मनुभएका जोशीको २०७९ असोज ३० गतेका दिन १०३ वर्षको उमेरमा निधन भएको थियो ।

ललितपुर महानगरपालिकाको अनुरोधमा जोशीले पुर्‍याउनुभएको योगदानको सम्मानमा जोशी जीवित छँदै सरकारले उहाँको तस्बिर अङ्कित नेपाली मुद्रा, हुलाक टिकट प्रकाशन गरेको थियो ।

Share the News

Recent News

Related News