मधु पन्थी, पोखरा ।
मेडिकल क्षेत्रमा नर्सहररूको न्यून तलबमा काम गर्नु परेकै कारण नेपालमा आफ्नो भविष्य नदेखेर विदेश पलायन हुने गरेको स्वस्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताउनु भएको छ ।
विश्व नर्सिङ दिवसको अवसरमा पोखराको मणिपाल कलेजले २०८२ बैशाख २९ गते पोखरामा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सरकारका स्वास्थ्य मन्त्री पाठकले उक्त कुरा बताउनु भएको हो ।
चौबिसै घण्टा बिरामीको सेवामा खट्ने नर्स लगायतका स्वास्थ्य कर्मिहरूको हितलाई ध्यानमा राखेर आफुले स्वास्थ्यकर्मी प्रोत्साहन कार्यविधी बनाउन लागेको समेत उहाँले बताउनु भयो ।
नर्स लगायतका स्वास्थ्यकर्मीहरूको पेसागत हित र सेवा सुविधामा उचित ध्यान दिएमा दक्ष जनशक्ति विदेश पलायन हुने क्रम रोक्न सकिने उहाँको भनाइ थियो ।
इटालिकी फ्लोरेन्स नाईटिंगलको जन्मदिन पारेर विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवस विश्वभरका नर्सहरूको महत्त्वपूर्ण दिन भएको बताउँदै वर्तमान अवस्थामा नर्सहरुको जिम्मेवारी र खटाइएको तुलनामा तलव निकै न्यून भएकोले आगामी दिनमा नर्सको तलव दोब्बर बनाउनु पर्नेमा मन्त्री पाठकले जोड दिनु भयो ।
स्वास्थ्य नागरिक जीवनको महत्त्वपूर्ण पक्ष भएकाले यसको सुदृढीकरण र सेवा विस्तारमा राज्यले प्राथमिकता दिनुपर्ने भएकै कारण प्रदेश भित्रका सबै सरकारी अस्पतालहरुको स्तरोन्नति गर्न लागिएको मन्त्री पाठकको भनाइ छ ।
सरकार निजी क्षेत्रसँग मिलेर स्वस्थ्यको क्षेत्रमा काम गर्न चाहेको उल्लेख गर्दै मन्त्री पाठकले निजी मेडिकल कलेजहरूसग मिलेर जनस्वास्थ्य सुधारमा सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि उल्लेख गर्नु भयो ।