ललितपुर । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्ड वर्षाका कारण अवरुद्ध भएको सडक २०८२ बैशाख २१ गते दिउँसोबाट सञ्चालनमा आएको छ । बैशाख २० गते रातिबाट परेको पानीका कारण सवारी साधन आवत–जावत गर्न बनाएको डाइभर्सन बाटो बगाएकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुर र ललितपुरको सिमानास्थित मकवानपुरको भीमफेदी गाउँपालिका –८ र ललितपुरको बागमती गाउँपालिका –२ मा बागमती नदीमा बनाइएको डाइभर्सन बाटो बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । अवरुद्ध बाटो खुलाएपछि सवारी साधन सञ्चालनमा आएका हुन् ।
प्रशासनले यसअघि कान्ति लोकपथ सडकको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जानकारी दिएको थियो ।
निरन्तर वर्षा भइरहेकाले हेटौँडा–काठमाडौँ यात्रा गर्दा सुरक्षित भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ । यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर यात्रा गर्न आग्रह गरिएको छ ।
यसैबिच मकवानपुरको हेटौँडामा जमिन भासिँदा हराएको जीप अझै भेटिएको छैन । तीन दिन खोज्दा पनि नभेटिएपछि हेटौँडा उपमहानगरपालिकाले आज बैठक गरेर अब भूगर्भविद्को सहयोग लिने निर्णय गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ गैरीगाउँमा अस्ति बैशाख १९ गते दिउँसो १ बजेतिर सडक भासिँदा रोकिराखेको अवस्थामा ना ४ ख ४८३३ नम्बरको जीप जमिनमुनि पसेको थियो ।
बैशाख २१ गते दिउँसोसम्म खोजी गर्दा पनि जीप नभेटिएपछि खोजी कार्य स्थगित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जीप खोजी गर्नका लागि खन्दा थप क्षति हुने सम्भावना रहेकोले त्यो ठाउँलाई सुरक्षित राखेको प्रहरीको भनाइ छ । उपमहानगरपालिकाले भूगर्भ विभागलाई यसबारे पत्र पठाइसकेको जनाएको छ ।