ललितपुर । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले राजनीति पनि खेलजस्तै अनुशासित र मर्यादित हुनुपर्ने र राजनीति पनि एक प्रकारको खेल भएको धारणा राख्नुभएको छ ।
गोदावरी नगरपालिका वडा नं १० झ्यालुन्टारमा २०८२ बैशाख २० गते बाट सुरु भएको गोदावरी मेयर कप दोस्रो संस्करण उदघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
खेल उद्घाटन सत्रमा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाबिच खेल भएको छ । जसमा गोदावरी नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई एकका विरुद्ध ६ गोलले उद्घाटन खेल जितेको छ ।
गोदावरी नगरपालिकाका तर्फबाट २२ औँ मिनेटमा पहिलो गोल पासाङ लामाले गर्नुभएको थियो भने चार गोल खेलाडी अरुण लामा एक्लैले गर्नुभएको थियो ।
एक गोल आत्मघाती हुन पुगेको थियो । महालक्ष्मी नगरपालिकाले भने एक गोलमा नै चित्त बुझायो । पहिलो संस्करणमा महालक्ष्मीले गोदावरीलाई पराजित गरेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, बागमती प्रदेशका सांसद मधुसुधन पौडेल, उर्मिला लामालगायत विभिन्न स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा काठमाडौका ६, ललितपुरका पाँच र भक्तपुरका दुई गरी काठमाडौँ उपत्यकाका १३ ओटा स्थानीय तहको सहभागिता रहेको छ । फुटबल विजेता टिमले नगद ५ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उपविजेताले नगद ३ लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद संयोजक निरोज बज्राचार्यले जानकारी दिनु भयो ।
साथै अनुशासित टिमलाई ५० हजार रुपियाँ, म्यान अफ द म्याचलाई रु.५ हजार रुपियिाँ, उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता प्रशिक्षकलाई २५ हजार रुपियाँ दिइने छ ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद विकासका लागि सोचेभन्दा बढी विकास गर्नेतर्फ आफू लागेको बताउनु भयो । २०८२ बैशाख २० गतेबाट सुरु भएको प्रतियोगिता २०८२ जेठ ३ गते समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।