ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ बैशाख १९ गते सङ्घीय संसदका दुवै सदनमा १५५ बुँदामा समेटिएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । नीति तथा कार्यक्रममा आरोग्य र ध्यान पर्यटनलाई विशेष महत्व दिइएको छ ।
पर्यटनसम्बन्धी केके विषय समेटिएको छ त ?
५३. नेपाललाई प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा विकास गरिनेछ । योग ध्यानमार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षक स्थलको रूपमा प्रवर्द्धन गरिनेछ । पर्यटन क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारको रूपमा विकास गरिनेछ ।
५४. दिगो, आय तथा रोजगारीमूलक, प्रविधि र वातावरणमैत्री पर्यटन नीति अवलम्बन गरिनेछ । सार्वजनिक-निजी सहकार्यमा पर्यटनको प्रत्यक्ष लाभ स्थानीय समुदायमा पुर्याइनेछ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई प्रोत्साहित गराइनेछ ।
५५. ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र साँस्कृतिक महत्त्वका थप क्षेत्रहरूलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल गरिनेछ । साँस्कृतिक सम्पदाहरूको संरक्षण र उचित व्यवस्थापन गरिनेछ