जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

नवराज विकसहितको हत्यामा २३ जनालाई जन्मकैद सदर, जातीय विभेद अस्वीकार

दुर्गा थापा, वीरेन्द्रनगर ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा  २०७७ जेठ १० गते भएको नवराज विकसहित ६ जनाको सामूहिक हत्या घटनामा संलग्न ठहर २३ जनामाथि जिल्ला अदालतले सुनाएको जन्मकैदको सजायलाई उच्च अदालत सुर्खेतले २०८२ बैशाख १६ गते सदर गरेको छ।

न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जिल्ला अदालतको फैसलालाई अधिकांश रूपमा यथावत राख्दै २५ वर्षसम्मको जन्मकैद सजायलाई कायम राखेको हो।

उक्त घटनामा जातीय विभेद र छुवाछुतसम्बन्धी मुद्दामा जिल्ला अदालतले २ वर्ष कैद र ५० हजार रूपियाँ जरिबाना सुनाएको थियो, तर उच्च अदालतले उक्त फैसला उल्ट्याएको छ। उच्च अदालतका अनुसार, पीडितले पाउनुपर्ने क्षतिपूर्तिको व्यवस्था र जन्मकैद सदर भएकाले फैसलामा आंशिक मात्र उल्टो भएको हो। जातीय विभेद र छुवाछुतसम्बन्धी मुद्दामा सबै जनालाई सफाइ दिएको अदालतले जनाएको छ ।

घटनामा दोषी ठहर गरिएका व्यक्तिहरूमा तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जना रहेका छन्। उनीहरूमध्ये नवराज विककी प्रेमिकाका बुबा र दाजु पनि छन्, जसका नामहरू गोप्य राखिएका छन्।

नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न जाने क्रममा उनीसहित पाँच जना साथीहरूको ज्यान लिइएको उक्त घटनाका सन्दर्भमा देशभर व्यापक आलोचना भएको थियो ।

सामाजिक विभेद र जातीय हिंसाको प्रतिकको रूपमा चिनिएको सोती घटनाले न्याय पाउने दिशामा महत्वपूर्ण मोड लिएको अधिकारकर्मीले बताइरहँदा जातीय विभेदको विषय भने ओझेल परेको उनीहरूको टिप्पणी छ ।

दोषी ठहर गरिएकाहरु:

  • डम्बरबहादुर मल्ल (तत्कालीन वडा अध्यक्ष)
  • नेत्रबहादुर मल्ल
  • रेशम मल्ल
  • सविन पुन
  • नवीनकुमार घर्तीमगर
  • विराज पुन मगर
  • धनराज राना
  • भीमबहादुर पुन
  • रमित पुन मगर
  • डिल्ली मल्ल ठकुरी
  • प्रेमबहादुर ठकुरी
  • सन्तोष मल्ल
  • मानबहादुर मल्ल
  • टोपबहादुर मल्ल
  • मोहन पुन मगर
  • इर्दबहादुर ठकुरी
  • तिलक चन्द
  • लिपेन्द्रकुमार मल्ल
  • हर्कबहादुर मल्ल
  • विनोद मल्ल
  • विष्णु मल्ल
  • नवराजकी प्रेमिकाका बुबा र दाजु

Share the News

Recent News

Related News