ललितपुर । एमनेष्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको जनाएको छ ।
मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० वर्ष बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको उल्लेख छ । यसको गम्भीर असर नेपालमा पनि परेको एमनेष्टीले जनाएको छ ।
‘मानव अधिकारको अवस्थामा सन् २०२४ सन्तोषजनक रहेन’ प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनलको नेपालका निर्देशक निराजन थपलियाले भन्नु भयो-‘सरकार नै आलोचनालाई दबाउने कार्यमा लागि पर्यो ।’
उहाँका अनुसार प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक तितरबितर पार्ने र हिरासतमा लिने कार्य गरेर सरकारले नै आलोचनालाई दबाउने प्रवृत्ति बढेको छ ।
प्रदर्शनका लागि निषेधित क्षेत्र तोक्ने क्रम पनि बढेको छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएका छन । समग्रमा दण्डहीनता कायमै रहेको एमनेष्टीले जनाएको छ ।