ललितपुर– ललितपुरका केही क्षेत्रमा आजदेखि लागू हुने गरि दुई महिनासम्मका लागि निषेधाज्ञा लगाइएको छ ।
पुल्चोकमा रहेको यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीमा रहेको नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य–मुख्य प्रशासनिक केन्द्र र यो आसपासका क्षेत्रमा हिजो निषेधाज्ञाको आदेश जारी गर्नुभएको हो ।
निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।