ललितपुर । जम्मू-कश्मीरको पहलगाममा २०८२ बैशाख ९ गते दिउँसो २६ जनाको ज्यान जाने गरी भएको चरमपन्थी हमलाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कल्पना गरेमन्दा कडा सजाय गरिने बताउनु भएको छ ।
उहाँले बैशाख ११ गते बिहारस्थित नेपाल-भारत सीमानजिकै मधुबनीमा पुगेर सार्वजनिक सम्बोधनमा सो कुरा बताउनुभएको सञ्चारमाध्यमले जनाएका छन् ।
मधुबनीमा राष्ट्रिय पञ्चायती राज दिवस कार्यक्रममा मोदीले आफ्नो भाषणअघि हमलामा मारिएका सर्वसाधरणको स्मरणमा दुई मिनेट मौनधारणको कार्यक्रम राख्नु भएको जनाइएको छ ।
उहाँले भन्नु भयो-‘आज बिहारको धर्तीबाट विश्वलाई भारत हरेक आतङ्कवादीको पहिचान गरेर, खोजेर सजाय दिन तयार रहेको सन्देश विश्वलाई दिन चाहन्छु । उनीहरूलाई समर्थन दिनेलाई पनि दण्डित गर्ने छौँ । उनीहरूलाई पृथ्वीको अन्तिम कुनासम्म खोज्ने छौँ ।’
कश्मीरको पहलगामनजिकै भएको उक्त घटनामा परेका नेपाली नागरिक रूपन्देहीका बासिन्दा भएको र उनी आफ्नी आमासहित कश्मीर घुम्न गएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको बिबिसीले लेखेको छ।