जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन गर्न पोखरेलीलाई आग्रह

मधु पन्थी,पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन गर्न सम्पूर्ण पोखरेलीलाई आग्रह गर्नु भएको छ ।

पोखरा महानगरपालिका-१७ विरौटामा सञ्चालन भइरहेको यस कोटिहोम महायज्ञमा २०८२ बैशाख ९ गते प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका अध्यक्ष आचार्यले धार्मिक, सांस्कृतिक तथा सामाजिक चेतनाको अभिवृद्धिका लागि यस्ता महायज्ञ अपरिहार्य भएको बताउनु भयो ।

“यो कोटिहोम महायज्ञ हामी सबैलाई धार्मिक बनाउने छ । पछिल्लो समय देखिएको विकृति हटाउन पनि यो महायज्ञ सिद्ध हुनेछ ।”-उहाँले भन्नु भयो- “म त भन्छु, हाम्रो आँगनमै भइरहेको यस्तो महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली नै हुन सक्दैन।”

उहाँले महायज्ञको सफल आयोजनाका लागि पोखरालीहरू सबैले साथ र सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नु भयो-“यसरी हाम्रो ठाउँमा भएको यति ठूलो धार्मिक कार्यक्रमको समर्थन नगर्नु हाम्रो साझा भुल हुनेछ ।”

वडा अध्यक्ष आचार्यले पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पर्यटन वर्ष’को रूपमा घोषणा गरेकाले त्यसलाई सफल बनाउन कोटिहोम महायज्ञ जस्ता कार्यक्रमहरू महत्वपूर्ण माध्यम बन्न सक्ने धारणा राख्नु भयो ।

महायज्ञको पूर्वसन्ध्यामा अहिले श्रीमद्भागवत कथा प्रवचनसमेत जारी छ । प्रवचनमा चर्चित अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा ज्यू  र सुप्रिया किशोरीलगायतका वक्ताहरूको आकर्षक प्रस्तुति रहँदै आएको छ।

पछिल्ला दिनहरूमा भक्तजन र दानविरदाताहरूको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको आयोजकहरूले जनाएका छन् । आयोजकको भनाइमा, महायज्ञले न केवल धार्मिक चेतना फैलाउनेछ, तर सामाजिक एकता र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ ।

Share the News

Recent News

Related News