धर्मसिंह बिक । धनगढी
भारतको झारखण्डमा आयोजित दक्षिण एसियाली अन्तराष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ । बैशाख ५ देखि ७ गतेसम्म भएको प्रतियोगितामा नेपालले ५४ पदक जित्दै चार सहभागी देशमध्ये शीर्ष स्थान हासिल गर्यो । भारत दोस्रो, मलेसिया तेस्रो र भुटान चौथो स्थानमा रहे ।बाजुरा चम्कँदा दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपाल पहिलो
प्रतियोगितामा नेपालबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका खेलाडी सहभागी थिए । सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरा र कञ्चनपुर जिल्लाका खेलाडीहरूको विशेष योगदान रह्यो । बाजुराबाट मात्र आठ जना खेलाडीले सहभागी भई १६ पदकका लागि प्रतिस्पर्धा गर्दै १२ स्वर्ण, दुई रजत र एक कास्य जिते ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकाबाट खेलाडीहरू सहभागी गराइएको थियो । टोली खेल प्रशिक्षक नरेन्द्र ओलीको नेतृत्वमा गएको थियो । ओलीले रेफ्रीको भूमिकासमेत निर्वाह गर्दै उत्कृष्ट रेफ्री अवार्ड प्राप्त गर्नु भएको छ ।
प्रतियोगितामा बाजुराका शुशिल कठायत (५५ केजी) र अमृत बुढा (६० केजी) ले काता र कुमुते दुवैमा स्वर्ण जित्नु भयो । यस्तै अमित रावत (५० केजी) र शुभम रावत (४५ केजी) ले पनि दुवै विधामा स्वर्ण पदक हात पार्नु भयो । महिलातर्फ गीताकुमारी कठायत (५० केजी) ले दुवैमा स्वर्ण जित्नु भयो भने रमा रावत (६० केजी) ले एक स्वर्ण र एक रजत, सरिताकुमारी सुनार (४५ केजी) ले एक रजत र एक कास्य तथा सुरेन्द्रकुमारी रावत (४० केजी) ले एक स्वर्ण र एक रजत पदक जित्नु भयो ।
गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले अन्तर्राष्ट्रिय प्रतियोगितामा बाजुराका खेलाडीहरूको सहभागिता र सफलता गौरवको विषय भएको बताउनु भएको छ ।
सुदूरपश्चिमका दुर्गम गाउँमा पछिल्लो समय खेल क्षेत्रको उल्लेखनीय विकास भइरहेको छ । भलिबल, फुटबल, क्रिकेट र कराँतेजस्ता खेलहरू गाउँगाउँमा आयोजना हुन थालेका छन् । सीमित स्रोत साधन र प्रशिक्षणको अभाव हुँदाहुँदै पनि युवाहरूको खेलप्रति आकर्षण बढ्दै गएको देखिन्छ ।