जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

ललितपुर । देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दाङ, राप्ती गाउँपालिका–५ सिंगेस्थित सडकमा कृष्णनगरबाट घोराहीतर्फ जाँदै गरेको बा.३ ख  ७९९६ नम्बरको बस अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी दाङकै घोराही उपमहानगरपालिका–३ चौपट्टास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री लमही नगरपालिका–६ बस्ने ३७ वर्षीय खगेश्वर रावतको गए राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रावतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । रूपन्देही, कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा युपि ५५ जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीया राजवन्ती मल्लाहको शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनायो ।

धादिङ, थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ६५८ नम्बरको बोलेरो नम्बर नखुलेको टिपर पछाडि ठक्कर खाई गए राति दुर्घटना हुँदा बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका–१ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थिङको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका–१६ भुईपुलस्थित सडकमा प्र.२–०३–००१ ख ०६०७ नम्बरको टिपर र बा.०१–०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा कार चालक सर्लाही घर भएका ५० वर्षीय जित नारायाण प्रसाद साह र कारमा सवार सर्लाही बरहथवा नगरपालिका–१५ हजरिया बस्ने ४६ वर्षीय नारायण हरी शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रसुती अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको  हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share the News

Recent News

Related News