ललितपुर । काठमाडौँमा लामो समयदेखि भइरहेको प्रदर्शनका कारण जनजीवन प्रभावित भएको छ । सडक नै ढाकेर हुने प्रदर्शनका कारण काठमाण्डौको माइतिघर–नयाँ बानेश्वर सडक लगायत आसपासको ट्राफिक व्यवस्थापन दिनदिनै अस्तव्यस्त भइरहेको छ । शिक्षकहरुले चैत २० गतेदेखि सडक नै ढाकेर प्रदर्शन गर्दै आएका छन् । शिक्षक सडकमा आएको अघिल्लो दिन नै प्रदर्शन शुरु गरेका सहकारी, लघुवित्त र मिटर ब्याज पीडितको आन्दोलन पनि अझै चलिरहेको छ । उनीहरूको प्रदर्शन क्षेत्रपाटी, शान्तिबाटिका र भद्रकाली क्षेत्रमा केन्द्रित छ । बुद्धनगर बबरमहल क्षेत्रमै चैत २१ गतेदेखि आवासीय चिकित्सकहरु पनि तलब माग्दै आन्दोलन गरिरहेका छन् । बित्तिय संस्था पिडित, शिक्षक र चिकित्सकको आन्दोलन भन्दा पहिले नै प्रदर्शन शुरु गरेका राजावादीहरुको प्रदर्शन पनि चलिरहेकै छ ।
यसबीचमा संघीयता पक्षधरदेखि कुलमान घिसिङ समर्थकसम्मका प्रदर्शनहरु पनि भइरहेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरी बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म नयाँ बानेश्वर–माइतिघर सडक ठप्प जस्तै हुँदा त्यसको असर आसपासमा अरू सडकमा पनि देखिने गरेको बताउनुहुन्छ ।
यसैबिच स्थानीय तहका कर्मचारी पनि आन्दोलित भएका छन् । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले आज विज्ञप्ति जारी गर्दै भोलि आइतबारदेखि आन्दोलन गर्ने जनाएको हो । सञ्जालका महासचिव दिपक सिंह धामीले जारी गरेको विज्ञप्तिमा आइतबार ७ सय ५३ वटै स्थानीय तहका प्रमुखमार्फत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री र मुख्य सचिवलाई ध्यानाकर्षण गराउने उल्लेख गरिएको छ ।
सोमबार काठमाडौंमा भेला भएर दबाबमूलक कार्यक्रम गर्ने र ७ सय ५३ वटै स्थानीय तहमा कालो पट्टी बाँधेर काम गर्ने जनाएको छ । माग पूरा नभए शुक्रबार काठमाडौँ केन्द्रित सडक आन्दोलन तथा सम्पूर्ण ७ सय ५३ वटै स्थानीय तहमा पेन डाउनका कार्यक्रमहरू गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सञ्जालले स्थानीय तह कर्मचारी संघर्ष समितिसँग सरकारले गरेका सम्झौतालाई लत्याउँदै संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले अगाडि बढाएको भन्दै आपत्ति जनाएको छ ।