जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

पाका पत्रकार रिसालको निधन

ललितपुर । पाका पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षको उमेरमा २०८१ चैत २४ गते उहाँको निधन भएको परिवारले जनाएको छ । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका पाका पत्रकार रिसालको निधन बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा भएको हो ।

उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएकाले उहाँको शवको अन्त्येष्टी नगरिने भएको छ ।

रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नु भएको छ । रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो कुराकानी शृङ्खला सञ्चालन गर्नुभएका रिसाल वामपन्थी विचारधाराको अनुयायी हुनुहुन्थ्यो ।

रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवारसमेत हुनु भएको थियो । तर उहाँले निर्वाचनमा जित हासिल गर्न सक्नु भएन ।

वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गर्नु भएको थियो । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गर्नु भएको थियो । उहाँले लिपुलेक र लिम्पियाधुराको जनगणना गर्नु भएको बताउँदै आउनु भएको थियो ।

उहाँले इच्छा मृत्युको वकालत गर्दै आउनु भएको थियो । उहाँले विद्यार्थीको पठनपाठन सजिलोका लागि सिङ्गो शरीर नै मेडिकल कलेजलाई दिने घोषणा गर्नु भएको थियो । तसर्थ उहाँको शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइने पारिवारिक स्रोतले जनाएको छ ।

नेपालको पहिलो प्रजातान्त्रिक कालमा नै २०१३ सालदेखि पत्रकारिता गर्दै आउनु भएका रिसालको आवाज रेडियोमैत्री थियो । उहाँ नै उमेर पाको भएपनि आवाज युवा नै रहेको बताउनुहुन्थ्यो ।

क्षयरोगबाट पीडित हुनुभएका रिसाल सो समस्याबाट मुक्ति पाउन ललितपुरको टुङ्गुन जानु भएको थियो । टुङ्गुनमा छँदा उहाँले चन्दनपुरको कालेश्वरी विद्यालयमा पढाउनु भएको थियो । केही समय चन्दनपुर बस्नु भएका रिसालको रोग यहाँको हावापानीका कारण निदान भएको थियो ।

Share the News

Recent News

Related News