ललितपुर । रेडियो सगरमाथा आज २९ औँ वर्षमा प्रवेश गरेको छ । आजभन्दा २९ वर्ष अगाडि आजकै दिन २०५४ साल जेठ ९ गते रेडियो सगरमाथाको स्थापना भएको हो ।
नेपालको स्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथा एफएम १०२ थोप्लो ४ मेगाहर्जले करिव तीन दशकदेखि समुदाय एवम् राष्ट्रियस्तरमा सामाजिक न्याय, लैङ्गिक समता, विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक संस्कारको विकास र विस्तारमा नेतृत्वदायी भुमिका खेल्दै आएको छ ।
प्रशारण शुरुवातदेखि निरन्तर रुपमा सामुदायको उन्नति र प्रगति तथा सकारात्मक समाज परिवर्तनका लागि रेडियो सगरमाथाले महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले लिखित रूपमा रेडियो सगरमाथालाई शुभकामना सन्देश पठाउनु भएको छ ।

नेपाली सञ्चार जगतमा रेडियो सगरमाथाले फरक अभियान सञ्चालन गरिरहेको छ । रेडियोका अध्यक्ष घमराज लुँइटेलका अनुसार रेडियो सगरमाथामा नेपाल भित्रका भाषभाषी र नेपाली भाषामात्रै प्रशारण गर्ने गरिएको छ ।
सामुदायिक रेडियो प्रशारक सङ्घका अध्यक्ष अर्जुन गिरीले रेडियो सगरमाथाले रेडियोका लागि बनाएको मानक गौरवमय रहेको बताउनु भयो ।
उहाँले पछिल्लो समय रेडियोले आर्थिक र प्रविधिसँग सम्बन्धित चुनौति सामना गर्नुपरेको पनि बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवम् आम सञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले यो रेडियो जनताको भएको बताउनु भएको छ ।
‘जनताको भनेको मेरो पनि हो । यसमा हरेक नागरिकले अपनत्व लिने ठाउँ छ ।’–उहाँले भन्नु भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले प्रजातन्त्र, लोकतन्त्रलाई बलियो बनाउन रेडियो सगरमाथाले महत्वपूर्ण भूमिका निभाएको बताउनु भयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले लोकतन्त्रमा मिडियाको शक्ति अथाह हुने हुँदा त्यसको उपयोगमा गम्भीर भएर ध्यान दिनु आवश्यक रहेको बताउनु भयो ।
नयाँ डिजिटल मिडियाले रेडियोहरूलाई लखेटिरहेको हुँदा त्यसलाई सामना गर्ने तागत राख्नु नै रेडियोको प्रमुख चुनौति रहेको मन्त्री पन्तले बताउनु भयो ।
समुदायको विकासमा सामुदायिक रेडियोको महत्व झनै बढेको उहाँले बताउनु भयो ।
रेडियो सगरमाथाको स्थापनादेखि अहिलेसम्मका हरेक कालखण्डमा कहिले सँगै त कहिले अलिपरबाट भोग्ने देख्ने अवसर पाएकोले यसका सुखदुःखको साक्षी रहेको उहाँको भनाइ छ ।
रेडियो सगरमाथा सञ्चालन बोर्डका अध्यक्ष डा. घमराज लुँइटेलले स्थापनाकालका सन्दर्भहरूलाई स्मरण गर्नुभयो ।
समाचार कक्षले हरेकलाई समेट्न सक्ने हुनु पर्दछ । रेडियोको कार्यक्रमलाई स्तरीय बनाउने काम रेडियोकर्मीकै हुने हुँदा सोही अनुसारका काम गर्नुपर्नेमा जोड दिनु भयो ।